त्यतिबेला मन्जुश्रीको कुनै अस्तित्व थिएन । विशाल तलाउबीचको सानो थुम्को नै त्यो लघु राज्यको सीमा र शक्ति दुवै थियो । एकथरी विद्वत तर्क गर्थे, तलाउबीचको अवस्थितिले राज्यको रणनीतिक महत्वलाई उचो राखेको छ । अर्काथरी विद्वत दाबी गर्थे, तलाउले राज्यको सीमा र हैसियत दुवै खुम्च्याएको छ ।
बहस र छलफलको परिधिभन्दा बाहिर रहेका नागरिहरुलाई यस्ता तर्कबारे उतिसारो चासो थिएन् । किनकी उनीहरुका आफ्नै रैथाने चिन्ता र चासो, छटपटी र ऊहापोह थिए ।
राज्यका केही विशिष्ट नियमहरु थिए । पात्रोले समयको हिसाब–किताब राख्छ र घडीले समयको कित्ताकाट गर्छ भन्ने जानेर राजाले यी दुवैको प्रयोगमा स्थायी प्रतिबन्ध लगाएका थिए । त्यही भएर यहाँ सुनाउन आँटिएको कथा कति सालको हो ? कति बजे त्यस्ता घटना घटेका थिए भनेर कुनै अनुमान लगाउन सकिने अवस्था देखिएन ।
सुपूर्णवीरका बाबु किसान थिए । तर पनि उनी चलाख थिए । किनकी उनी पसिना र रगत सँगसँगै बगाउँदैनथे । चलाख भएर पनि उनी किन नेता भएनन, बिचौलिया भएनन् भनेर त्यस राज्यमा कसैले प्रश्न उठाउँदैनथे । किनकी प्रश्नहरुको प्रवाह हुन हावामा जुन तत्व चाहिन्छ त्यसलाई राज्यले नियन्त्रणमा राखेको थियो । तर यस्तो कुरा आम नागरिकहरुलाई थाहा थिएन । उनीहरुका कानलाई प्रश्नको आयाम र महत्वबारे थाहै थिएन । शासकहरुलाई यसमा बढो गर्व और हाइसन्चो थियो ।
प्रश्न नभएकै कारण नागरिकहरुमा उतिसारो जिज्ञासा पनि थिएन । अनि नागरिकहरु कसैले कसैको कुरा काटने काम गर्दैनथे । त्यसैले त्यहाँ नागरिक समाज पनि थिएन । अनि तिनीहरु विज्ञप्ति पनि निकाल्दैनथे । कसैले निकालिहाल्यो भने पनि अक्षरसँग चिनापर्ची नभएका नागरिकले त्यसलाई बेवास्ता गरिदिन्थे ।
अन्य राज्यमा झैं त्यहाँ पनि शासकको वरिपरि प्रदक्षिणा गर्ने मान्छेको जमात थियो । तिनीहरुले विभिन्न विशेषणसहित आफ्नो परिचय दिन्थे । कोही आफूलाई पत्रकार भन्थे, कोही लेखक भन्थे । केही कानून्ची भन्थे, कोही प्राध्यापक भन्थे, कोही अगुवा भन्थे, कोही अनुसन्धानकर्मी । तिनीहरु खासमा को थिए भन्नेबारे केही द्विविधाहरु छन् । लिपिबद्ध इतिहास नभएकाले कथाका धेरै पात्रहरुको इतिहास तोडमोड भएको हुनसक्ने आकलन गर्न सकिन्छ ।
क्वारेन्टाइनमा भएको सस्तो मृत्युअघि बाबुले सुपुर्णवीरलाई एउटा कथा सुनाएका थिए । यो त्यही कथाको लेख्य स्वरुप मात्रै हो । समयक्रममा कथामा आएका बदलावबारे उतारकर्ता जिम्मेवार छैन ।
कति हो कति वर्ष अघिको कुरा हो । उक्त राज्यमा विप्लव भयो । ताल किनारका नागरिकले मारेका माछाको हिसाबकिताबबाट सुरु भएको विद्रोहको डढेलो सल्किँदै सल्किँदै दरबारभित्रै छिऱ्यो । कति कथाकारले देशी–विदेशी तत्वका कारण यस्तो भएको भनेर कथा बनाए । कति लेखकले मत्स्य राज्यको प्रतिनिधिले सुलह सल्काएको कथ्य पनि रचे । भलै समयको रफ्तारमा यस्ता कथाहरु कता मिल्किए–मिल्किए ।
अचम्मै भयो । दरबारमा आगो सल्किएको धेरैबेरसम्म पनि चिम्नीबाट धुँवा निस्किएन । पछि थाहा भयो, दरबार जलेको दुनियाँले थाहा नपाउन भनेर दरबारभित्रका आसेपासेहरुले धुवाँ निल्ने दुस्साहस गरेका रहेछन् । धेरैभन्दा धेरै धुँवा निलेर राजा खुसी पार्ने नाममा कैयन दिनसम्म आगो दरबारभित्र फैलिरह्यो ।