२०७९ मंसिर १९, सोमवार

आदिकथा : पानीमाथि तैरिएको घाम

आदिकथा : पानीमाथि तैरिएको घाम

त्यतिबेला मन्जुश्रीको कुनै अस्तित्व थिएन । विशाल तलाउबीचको सानो थुम्को नै त्यो लघु राज्यको सीमा र शक्ति दुवै थियो ।  एकथरी विद्वत तर्क गर्थे, तलाउबीचको अवस्थितिले राज्यको रणनीतिक महत्वलाई उचो राखेको छ । अर्काथरी विद्वत दाबी गर्थे, तलाउले राज्यको सीमा र हैसियत दुवै खुम्च्याएको छ ।

बहस र छलफलको परिधिभन्दा बाहिर रहेका नागरिहरुलाई यस्ता तर्कबारे उतिसारो चासो थिएन् । किनकी उनीहरुका आफ्नै रैथाने चिन्ता र चासो, छटपटी र ऊहापोह थिए ।

राज्यका केही विशिष्ट नियमहरु थिए । पात्रोले समयको हिसाब–किताब राख्छ र घडीले समयको कित्ताकाट गर्छ भन्ने जानेर राजाले यी दुवैको प्रयोगमा स्थायी प्रतिबन्ध लगाएका थिए । त्यही भएर यहाँ सुनाउन आँटिएको कथा कति सालको हो ? कति बजे त्यस्ता घटना घटेका थिए भनेर कुनै अनुमान लगाउन सकिने अवस्था देखिएन ।

सुपूर्णवीरका बाबु किसान थिए । तर पनि उनी चलाख थिए । किनकी उनी पसिना र रगत सँगसँगै बगाउँदैनथे । चलाख भएर पनि उनी किन नेता भएनन, बिचौलिया भएनन् भनेर त्यस राज्यमा कसैले प्रश्न उठाउँदैनथे । किनकी प्रश्नहरुको प्रवाह हुन हावामा जुन तत्व चाहिन्छ त्यसलाई राज्यले नियन्त्रणमा राखेको थियो । तर यस्तो कुरा आम नागरिकहरुलाई थाहा थिएन । उनीहरुका कानलाई प्रश्नको आयाम र महत्वबारे थाहै थिएन । शासकहरुलाई यसमा बढो गर्व और हाइसन्चो थियो ।

प्रश्न नभएकै कारण नागरिकहरुमा उतिसारो जिज्ञासा पनि थिएन । अनि नागरिकहरु कसैले कसैको कुरा काटने काम गर्दैनथे । त्यसैले त्यहाँ नागरिक समाज पनि थिएन । अनि तिनीहरु विज्ञप्ति पनि निकाल्दैनथे । कसैले निकालिहाल्यो भने पनि अक्षरसँग चिनापर्ची नभएका नागरिकले त्यसलाई बेवास्ता गरिदिन्थे ।

अन्य राज्यमा झैं त्यहाँ पनि शासकको वरिपरि प्रदक्षिणा गर्ने मान्छेको जमात थियो । तिनीहरुले विभिन्न विशेषणसहित आफ्नो परिचय दिन्थे । कोही आफूलाई पत्रकार भन्थे, कोही लेखक भन्थे । केही कानून्ची भन्थे, कोही प्राध्यापक भन्थे, कोही अगुवा भन्थे, कोही अनुसन्धानकर्मी । तिनीहरु खासमा को थिए भन्नेबारे केही द्विविधाहरु छन् । लिपिबद्ध इतिहास नभएकाले कथाका धेरै पात्रहरुको इतिहास तोडमोड भएको हुनसक्ने आकलन गर्न सकिन्छ ।

क्वारेन्टाइनमा भएको सस्तो मृत्युअघि बाबुले सुपुर्णवीरलाई एउटा कथा सुनाएका थिए । यो त्यही कथाको लेख्य स्वरुप मात्रै हो । समयक्रममा कथामा आएका बदलावबारे उतारकर्ता जिम्मेवार छैन ।

कति हो कति वर्ष अघिको कुरा हो । उक्त राज्यमा विप्लव भयो । ताल किनारका नागरिकले मारेका माछाको हिसाबकिताबबाट सुरु भएको विद्रोहको डढेलो सल्किँदै सल्किँदै दरबारभित्रै छिऱ्यो । कति कथाकारले देशी–विदेशी तत्वका कारण यस्तो भएको भनेर कथा बनाए । कति लेखकले मत्स्य राज्यको प्रतिनिधिले सुलह सल्काएको कथ्य पनि रचे । भलै समयको रफ्तारमा यस्ता कथाहरु कता मिल्किए–मिल्किए ।

अचम्मै भयो । दरबारमा आगो सल्किएको धेरैबेरसम्म पनि चिम्नीबाट धुँवा निस्किएन । पछि थाहा भयो, दरबार जलेको दुनियाँले थाहा नपाउन भनेर दरबारभित्रका आसेपासेहरुले धुवाँ निल्ने दुस्साहस गरेका रहेछन् । धेरैभन्दा धेरै धुँवा निलेर राजा खुसी पार्ने नाममा कैयन दिनसम्म आगो दरबारभित्र फैलिरह्यो ।

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८

आत्मकथा टिम

सल्लाहकारः राजेश चाम्लिङ
प्रधान सम्पादकः इन्द्र कुमार राई
सम्पादकः रवित राई
कार्यकारी सम्पादकः गणेश कुमार राई
उप–सम्पादकः प्रकाश चाम्लिङ