२०७९ असार १७, शुक्रबार

जातीय छुवाछुत : आतंकवादी व्यवहारको प्रतिच्छायाँ

मलाई हालसालै स्वर्गे हुनुभएकी मेरी सासूको खुब याद आइरहेको छ । उहाँको चेतनास्तर सम्झँदा गर्व लाग्छ । मेरी अनपढ गाउँले सासूले म दमिनीलाई आफ्नो बुहारीको रुपमा सहजै स्विकार्नुभयो । सहजै स्वीकार गर्नुमात्र भएन, कतै र कहिल्यै असहजताको महसुस गर्न दिनुभएन ।

चुलोचौकोमा सहज पहुँच दिएर अरुले विभेद गर्लान् र मेरो चित्त दुख्ला कि भनेर सधैं चिया, खाजा र खाना पकाउन प्रेरित गर्नुभयो । आफू भुइँतल्लामा सुतेर हाम्रो लागि घरको माथिल्लो तल्लामा सुत्ने वातावरण बनाइदिनुभयो । मेरा पति प्रदीप थापा मगरले अन्तरजातीय विवाहमात्रै गर्नुभएन, आफ्नो थर वैधानिक रुपमा नै मेरो थर परियार ग्रहण गरेर ‘प्रदीप परियार थापा’ बन्नुभयो ।

साक्षरसम्म नभएकी तर चेतना र व्यवहारले उन्नत सासूको त्यो महानता र उदारता आज रुकुमकी सानी बैनी सुस्माकी आमाले देखाउन सकेको भए नवराज विकसहित ६ जना होनहार नेपाली भाइहरु मर्नु पर्दैनथ्यो ।

भन्छन्, नारीको सहनशीलता र महानताभित्र धेरै कुरा निर्धारित हुन्छ । यदि सुस्माकी आमाले छोरी प्रेममा परिहाली, भागभोग उसकै हो भनेर अनिष्ट आउनुअघि छोरीको प्रेम सफल बनाउन गुप्त भूमिका खेलेको भए आज यो कहालीलाग्दो नरसंहारको साक्षी आम नेपालीले बस्नु पर्दैनथ्यो कि ! मेरी सासूको चेतना र प्रज्ञा ती मल्ल थरकी नारीमा हुन्थ्यो भने यो कुरूप अमानवीय हर्कत पक्कै रोकिन्थ्यो ।

म सीमान्तकृत दलित समुदायको व्यक्ति भएका कारण बाल्यकालीन तिता अनुभवदेखि अमेरिकाको न्यु जर्सीका मेयरको सल्लाहकार भइरहँदा होस् या भिजिटिङ प्रोफेसर हुँदा; हत्या, हिंसा, असमानता र जातीय विभेदका कैयन् घटना सुक्ष्म रुपमा हेर्न र बुझ्न पाएँ । बालीघरे दमाईकी छोरी भएर आफूले प्रत्यक्ष भोगेको जातीय छुवाछुतको भेददेखि आज घरेलु हिंसा, यौनिक हिंसा र लैंगिक हिंसाको वकालत गरिरहँदा विभेदका अनेक रुप र आयामसँग साक्षात्कार गरेकी छु ।

६ भाइलाई आफ्नो गर्भमा अधीनस्थ गर्दा सायद भेरीले असह्य पीडा अनुभव गरेकी होलिन् । ज्यानमारा दोष र अबगालको भारी भेरी किनारका लागि दागी बनेर यो सभ्यता रहुन्जेल बसिरहन्छ । भेरीको पानी नसुकुन्जेल दलितका पीडा, व्यथा र दलन आँसु बनेर बगिरहनेछ । त्यो निर्मम हत्या र घटनाको अन्तर्य समाजमा विद्यमान जात व्यवस्थाको जरो र किलो नै हो । मलाई यहीँनेर शिक्षा र चेतनाको अन्तर भन्न मन लाग्यो । मेरी निरक्षर सासू पानी नचल्ने दलितकी छोरीलाई आफ्नो परिवार गुल्मीका चल्तापुर्जा थापा मगर परिवारमा भित्र्याउन राजी बनिन् । तर समाजका बौद्धिक प्राज्ञिक वर्ग यो चलन फेर्न आज पनि अग्रसर छैन । समाजमा व्याप्त कलंक आफ्नो निधारमा पोतेर बस्न राजी छ । सकारात्मक पहलकदमी गरेर, कानुन र न्यायको पूर्ण पालनसहित मेट्न र फाल्न तयार छैन । यो घातक मौनता चिर्ने कहिले ? सभ्य र समतामूलक समाज निर्माण गर्ने कहिले ? अत्याचारको दलनमा सधैं पिसिएर इशापूर्व सय वर्षअघि राजा मनुले स्थापना गरेको विभेदको नीति पचाएर, भोगेर आजको दिनसम्म उस्तै र सोही रीत कायम हुँदा आउने आक्रोश, उठ्ने घृणा र जाग्ने विद्रोह सामान्य हुन सक्दैन ।

मान्छेलाई पशुभन्दा तल सम्झेर अति अमानवीय व्यवहार गर्ने मनुको सोच निन्दनीय छ । यद्यपि तत्कालीन चेतना र परिवेश त्यस्तै थियो । पीडा र मर्मले आक्रान्त समुदाय आज पनि मान्छे हुन नपाउनुको दर्दले घाइते छन्, आहत र विह्वल छन् । संसारमा जात मान्छे र धर्म मानवताभन्दा ठूलो र महत्त्वपूर्ण कुरा अरु छैन ।

जंगबहादुरले औपचारिक रूपमा संस्थागत गरेको विभेदको नीति दलित अर्थात् कथित शास्त्रमा वर्णित शूद्र जातिलाई पशुभन्दा तलको स्थानमा राखेर आफूलाई आधुनिक भन्न रुचाउँछ हाम्रो समाज । समाज विकासक्रममा प्रचीनकाल, लिच्छविकाल हुँदै मल्लकालमा राजा जयस्थिति मल्लले समाज सुधारको नाममा मानवीय कलंकलाई अरु संस्थागत गरे भने जंगबहादुरले मानव सभ्यतामा कुठाराघात गरे । आज पनि सोही क्रम र सिलसिल चलिरहेको देख्दा कसको मन रुँदैन ? नृशंस हत्याले कसको आङ सिरिंग बन्दैन ? मनुको वर्ण व्यवस्थादेखि १९१० सालमा मुलुकी ऐन नै बनाएर दलितलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा शोषण र अपमानपूर्ण जीवन जिउन बाध्य पारियो । २०२० सालमा राजा महेन्द्रले छुवाछुत र विभेदविरुद्ध कानुन ल्याएर सम्बोधन गर्ने प्रयास गरेका थिए । तर आज गणतन्त्र प्राप्त भएको १२ वर्षपछि पनि समाजमा छुवाछुत मात्रै छैन सो बहानामा ज्यानको जोखिम र मृत्युदण्ड जीवित छ । दुरदराजको गाउँको कुरा अलग्गै तर देशको राजधानी काठमाडौंमा सांसद र न्यायाधीशले नै दलित भएका कारण कोठा पाउन सक्दैनन् भनेको सुन्दा राजधानीको चेतनाप्रति दया लाग्छ ।

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८

आत्मकथा टिम

सल्लाहकारः राजेश चाम्लिङ
प्रधान सम्पादकः इन्द्र कुमार राई
सम्पादकः रवित राई
कार्यकारी सम्पादकः गणेश कुमार राई
उप–सम्पादकः प्रकाश चाम्लिङ