२०८० मंसिर १८, सोमवार

शिक्षा प्रणाली र व्यवहार बीच उचित तालमेल: विकासको अचुक ओखती

भानुभक्त भट्ट

कुनै पनि शैक्षिक कार्यक्रम वा पाठ्यक्रमका मुख्यतया ४ अंग वा तत्वहरू हुन्छन् : उद्देश्य, बिषयबस्तु, शिक्षण सिकाई बिधि र मूल्यांकन । हरेक राष्ट्रले आफ्नो आवश्यकता/ प्राथमिकता, शासन व्यवस्था, अन्तर्राष्ट्रिय माहोल, सामाजिक/ आर्थिक/ सास्कृतिक संरचना, दार्शनिक आधार आदिलाई हेरेर शिक्षा प्रदान गर्नुको उद्देश्य निर्धारण गर्छन् । जस्तै: हाम्रो देशमा पञ्चायतकालीन शिक्षाको उद्देश्य राष्ट्र र राजमुकुट प्रति वफादार रही पञ्चायती व्यवस्था अनुकुल आचरण गर्ने नागरिक तयार गर्ने, तथा बिज्ञान र प्राबिधिक ज्ञानको प्रसार गरी देश बिकासका लागि आवश्यक जनशक्तिको पूर्ति गर्नु थियो भने हाल राष्ट्र, राष्ट्रिय एकता र लोकतान्त्रिक संस्कारको भावना बिकास गराइ नैतिकता, अनुशासन, स्वावलम्बन जस्ता सामाजिक र चारित्रिक गुणहरू बिकास गरी आधारभूत गणितिय सीप, भाषिक सीप, बिज्ञान प्रबिधि सीप एवम् जीवनपयोगी सीपको बिकास गराउने आदि जस्ता उद्देश्यहरू प्राथमिक तहमा राखिएका छन्। त्यसकारण, शिक्षाका उद्देश्य समय, शासन व्यवस्था र देश सापेक्ष हुन्छन भन्दा अत्युक्ति नहोला यद्यपि केही मूलभूत उद्देश्य भने समान हुन सक्छन जस्तै- बालकको चारित्रिक बिकास, व्यक्तित्व बिकास, नैतिक बिकास, गर्ने उद्देश्यहरू आदि।

पाठ्यक्रमका उद्देश्यहरू राष्ट्रिय, तहगत, कक्षागत, बिषयगत र एकाई एवम पाठ्गत सम् हुने गर्दछन र प्रकृतिको हिसाबले सामान्य र बिशिष्ट हुन्छन् । फलस्वरुप, ती उद्देश्य परिपूर्तिका लागि निश्चित बिषयबस्तु चयन गरिन्छ (बिद्यार्थीको उमेर, रूची, क्षमता मनोवैज्ञानिक आधार हेरेर) र कुन विधिद्वारा शिक्षणसिकाइ गर्ने हो सो निर्धारण गरिन्छ र उक्त लक्ष्य/ उद्देश्यहरू हासिल गरे नगरेको यकिन गर्न कसरी मूल्यांकन गर्ने हो, सो को निर्क्योल गरिन्छ र पाठ्यक्रम बन्छ र त्यसको आधारमा आवश्यक अन्य सामग्री जस्तै: पाठ्यपुस्तक, श्रव्य दृश्य सामग्री, खेलौना, खेल सामग्री आदि बनाइन्छन र बिद्यालयमा पठनपाठनको व्यवस्थापन गरिन्छ जस्तै: कक्षाकोठा, खेलमैदान, पुस्तकालय, शिक्षक, ल्याब, आदि। शिक्षण सिकाई र अन्य व्यवस्थापन गर्न अभिभावक र अन्य व्यक्ति सम्मिलित व्यवस्थापन समिति र प्राज्ञिक नेतृत्वको रूपमा हेडमास्टरको व्यवस्था कानूनले नै गरिदिएको छ।

सन् 1957 मा रुसले स्पुटनिक 1 नामको यान अन्तरिक्षमा पठाएपछि अमेरिकाले आफ्नो पाठ्यक्रम/ शैक्षिक प्रणालीमा व्यापक फेरबदल गरी सन् 1969 मा चन्द्रमामा पहिलो पटक पाहिला टेक्न सफल भएको थियो।

हिल्डा टाबाका अनुसार पाठ्यक्रम सिकाइको एक योजना हो। पाठ्यक्रम सिकाइ तथा बालकको बृद्धि बिकासको लागि एउटा दिशानिर्देश हो, पद्धति हो। त्यति मात्र होइन आज निर्माण गरेको पाठ्यक्रम भनौँ वा शैक्षिक कार्यक्रम वा शिक्षा पद्धति भोली मुलुकलाई कुन ठाउँमा पुर्याउने र कस्तो बनाउने भन्ने ऐना पनि हो। सन् 1957 मा रुसले स्पुटनिक 1 नामको यान अन्तरिक्षमा पठाएपछि अमेरिकाले आफ्नो पाठ्यक्रम/ शैक्षिक प्रणालीमा व्यापक फेरबदल गरी सन् 1969 मा चन्द्रमामा पहिलो पटक पाहिला टेक्न सफल भएको थियो।

पाठ्यक्रम बनाउँदा देशको आवश्यकता, समाजको आवश्यकता, सामाजिक/ सास्कृतिक/ दार्शनिक आधारहरू, राजनितिक/ शासन व्यवस्था, आर्थिक, मनोवैज्ञानिक आधार, बालकको स्तर, उमेर, समकालीन समस्या, बिश्वव्यापी ज्ञानको बदलाव वा परिस्थिति आदि हेर्ने गरिन्छ। पाठ्यक्रम निर्माण निकै जटिल प्रकिया हो जुन बिभिन्न बिज्ञ एवम सरोकारवालाहरूको समन्वयमा सरकारको आधिकारिक निकाय हाम्रो परिप्रेक्ष्यमा पाठ्यक्रम बिकास केन्द्र ले बनाउने गर्दछ । यो top down र bottom up दुबै प्रक्रिया बाट बन्छ। हाल स्थानीय पाठ्यक्रम समेत लागू भएको छ जुन स्थानीय निकाय/बिव्यस/ बिद्यालयमै बन्छ । पाठ्यक्रम प्रदेश वा स्थानीय तह अनुसार फरक पनि हुन सक्छ तर राष्ट्रिय पाठ्यक्रम, शिक्षाका राष्ट्रिय उद्देश्य, नीति, संबिधान संग बाझिने हुनु हुदैन र ती पाठ्यक्रमका बीच आधारभूत मूल्यहरूमा/ standard/ norms मा तालमेल हुनु जरूरी छ। नत्र कुनै प्रदेश/ स्थानीय तहले मनपरी ढंगबाट कुनै परीक्षा जस्तै- SEE उत्तीर्ण गराउन सक्छ वा राष्ट्रिय बिखण्डन आउने मूल्यहरु सिकाउन सक्छ।

पाठ्यक्रम बनेपछि बल्ल शैक्षिक कार्यक्रम शुरु हुन्छ, शुरूमा बिद्यार्थी भर्ना लिइन्छ, निश्चित पाठ्यपुस्तक र अन्य सामग्री तयार गरी बिभिन्न प्रकारका शिक्षण बिधिहरू प्रयोग गरी पढाउन शुरू गरिन्छ। शिक्षण बिधि मुख्यतया 2 प्रकारका छन् : परम्परागत शिक्षक केन्द्रित बिधि जस्तै- lecturer method आदि जसमा शिक्षकलाई ज्ञानको मुहान, सर्बज्ञाता आदि ठानिन्छ र बिद्यार्थीहरू निरीह निस्क्रिय सुगा जस्तै सुनेर घोक्ने, रित्तो गाग्री ठानिन्छन र गल्ती गरेमा सजायको भागीदार हुन्छन। सिकाइ one way traffic जस्तो हुन्छ, मेरो गुरू प्रा. उपेन्द्र कार्कीले त lecturer method लाई vomiting method भन्नुहुन्थ्यो जसमा शिक्षकले आफूले जानेका कुरा भट्ट्याउछ तर बिद्यार्थीलाई बोल्ने, अन्तरक्रिया गर्ने, छलफल गर्ने अवसर दिइदैन।

शिक्षक केवल साथी, पथप्रदर्शक, सहजकर्ता, न्यानो कम्बल, उत्प्रेरक , क्याटालिष्ट मात्र हो र बालमनोबिज्ञानलाई पूर्ण ध्यान दिइ दण्डरहित बातावरणमा शिक्षण गर्दछ।

सुगा रटाई जस्तो घोक्न लगाइन्छ र जसले घोक्न सक्छ उसले सिकेको कहलिन्छ- जुन बिधि आज हास्यास्पद भएको छ, यो बिकसित मुलुकमा धेरै पहिला थियो तर आज छैन। त्यसैगरी अर्को बिधि हो – वालकेन्द्रित बिधि जसमा बालक सक्रिय सिकारू हो, ज्ञानको निर्माता स्वंय हो, बासी पुराण सुने जस्तो मुकदर्शक श्रोता होइन, उ अन्तरक्रिया गरेर, खोज गरेर, फिल्डमा गएर, समूहमा छलफल गरेर, बिभिन्न खेलको माध्यमबाट शिक्षकसंग सहकार्य गरी सिक्दछ। शिक्षक केवल साथी, पथप्रदर्शक, सहजकर्ता, न्यानो कम्बल, उत्प्रेरक , क्याटालिष्ट मात्र हो र बालमनोबिज्ञानलाई पूर्ण ध्यान दिइ दण्डरहित बातावरणमा शिक्षण गर्दछ। यो बिधि बिभिन्न आधुनिक मनोबैज्ञानिकहरू कोहलर कोफ्का, चोम्सकी, वर्दिमर, भिगोत्सी, गार्डनर आदि बिद्वानका सिद्धान्तमा आधारित रहेको छ।

बिद्यार्थीलाई कुनै निश्चित बिधिद्वारा अध्यापन गरीसकेपछि अब प्रश्न उठ्छ मूल्यांकनको। जे सिकाउन चाहेको हो त्यो सिक्यो कि सिकेन भनेर निर्क्यौल गर्न मूल्यांकनका बिभिन्न साधनहरू वा औजारहरूको प्रयोग गरिन्छ जस्तै: लिखित परीक्षा, अवलोकन, घटनाबृत अध्ययन, अन्तरबार्ता, भाषण, निबन्ध लेखन, खेलकुद, समूह कार्य, प्रस्तुतिकरण, फिल्ड भिजिट र प्रतिबेदन आदि जुन निरन्तर सिकाइ संगै चलीरहन्छन् । यी मध्ये बर्षको अन्तमा लिइने लिखित परीक्षा सबैभन्दा बढी परम्परागत हो तथापि यसमा पनि निबन्धात्मक परीक्षाले लेखन सीप, बिचारहरू संगठन गर्ने सीप जाँच्न सहयोग गर्छ भने अन्य बस्तुगत परीक्षाबाट ज्ञानको स्तर बुझ्न सकिन्छ ।

परीक्षाको शुरूवात चीनबाट भएको हो र मलाई मूल्यांकन बिषय पढाउनु भएका गुरू प्रा. डा. तीर्थ खनियाका अनुसार माओत्से तुङको पालामा परीक्षाले समाजमा धनी र गरिब जन्माएर बिभेद गरेको भनी हटाएका थिए ।

केवल बर्षको अन्तमा लिइने लिखित परीक्षाले मात्र बिद्यार्थीको सम्पूर्ण सीपहरू, व्यवहार, बिनम्रता, सामाजिक गुण, सहयोगीपना, सदाचारिता र अन्य दैनिक जीवनमा काम लाग्ने सीपहरू नाप्न नसकिने भएकोले बिकसित मुलुकहरूमा र हाम्रै देशमा पनि केही शैक्षिक निकायहरूमा लिखित परीक्षा भन्दा पनि परियोजना कार्य, छलफल, बादबिबाद, प्रतिबेदन लेखन, प्रस्तुति, फिल्ड भिजिट, समस्या समाधान, प्राक्टिकल, आदि औजारहरूको सहायताले मूल्यांकन गर्ने गरिन्छ ।

परीक्षाको शुरूवात चीनबाट भएको हो र मलाई मूल्यांकन बिषय पढाउनु भएका गुरू प्रा. डा. तीर्थ खनियाका अनुसार माओत्से तुङको पालामा परीक्षाले समाजमा धनी र गरिब जन्माएर बिभेद गरेको भनी हटाएका थिए । अर्थात, धनीमानीका छोराछोरीले राम्रो अंक ल्याइ राम्रो जागिर खाने र गरीब मजदुरका छोराछोरीले कम अंक पाइ जागिर नपाउने स्थिति आएकोले हटाउन खोजे तर केही बर्ष पछि त त्यसको परिणाम झन नकारात्मक देखियो, अर्थात सबैले पढ्न नै छोडिदिए र पुनः स्थापना गरियो र हालसम्म पनि लिखित परीक्षा कायमै छ तथापि बिकसित मुलुकहरूले यसलाई निकै परिमार्जित गरी अन्य मूल्यांकनका साधनहरूलाई बढी जोड दिएका छन् ।

तह उकास्ने वा कक्षा चढाउने त पाठ्यक्रमको मूल उद्देश्य होइन, यो केवल प्रशासनिक काम हो

त्यसकारण, परीक्षा वा मूल्यांकन केवल शिक्षण सिकाइको एक अंग मात्र हो , सबैथोक होइन जसले सिकाइको लेखाजोखा गर्छ, पृष्ठपोषण दिन्छ, समस्या पहिचान गर्छ, सिकाईमा अझै सुधार ल्याउन सहयोग गर्छ, भबिस्यमा कसरी पढ्ने र पढाउने भनेर दिशानिर्देश गर्छ, र तह उकास्न मदत गर्छ। र, तह उकास्ने वा कक्षा चढाउने त पाठ्यक्रमको मूल उद्देश्य होइन, यो केवल प्रशासनिक काम हो। मूल उद्देश्य त समाज र राष्ट्र बिकासमा सो व्यक्तिले के टेवा दिन्छ भन्ने नै हो जसको लेखाजोखा गर्न मूल्यांकनका बिभिन्न तरीका अपनाइएका मात्र हुन् ।

हाम्रो समस्या के हो भने हामीजसो धेरैले पाठ्यपुस्तक लाई नै सबैथोक ठान्छौ- अर्थात त्यही पाठ्यक्रम हो, त्यसको शुरूदेखि अन्त्यसम्म घोकेर सुनाउन र लेख्न सके सिकाइ हुन्छ, त्यसरी distinction वा A plus आए राम्रो हुन्थ्यो, आदि। त्यसैगरी पढाउँदा हामीले किताब मात्रै अनुसरण गर्छौं, त्यसैलाई धर्मग्रन्थ जस्तो ठान्छौं । तर, बास्तबमा बिद्यार्थीले सिक्नुपर्ने कुराहरू त्यो किताबको पानाभन्दा बाहिर धेरै अथाह छ।

किताबी ज्ञानलाई जबसम्म बास्तबिक संसार/ जीवन/घटना/ बस्तु संग जोड्न सकिदैन तबसम्म त्यो सिकाइ अर्थहीन सुगा रटाई जस्तै हो किनकि शिक्षाको उद्देश्य व्यक्तिलाई आत्मनिर्भर बनाउनु, समस्या समाधान गर्न सिकाउनु, आफ्नो जीवनको निर्णय आफै गर्न सक्षम बनाउनु हो

पश्चिम जगतमा शिक्षालाई कक्षाकोठाको ४ पर्खालभन्दा बाहिर बुझ्ने अवधारणा बिकास भइसकेको छ । पाउलो फेरेको Pedagogy of Oppressed, रेमर को school is dead, ईभान इलिचको Deschooling of society जस्ता अभियान/ धारणा/ सिद्धान्त बाट र अन्य आधुनिक शिक्षाबिद र मनोवैज्ञानिक अनुसार पनि के प्रष्ट हुन्छ भने औपचारिक शिक्षा वा किताबी ज्ञानले मात्र त बिद्यार्थीको सिर्जनशीलता नाश गर्यो, उसको क्षमता प्रस्फुटन हुन दिएन र बालकको पूर्ण बिकास हुन सकेन त्यसकारण बालकको सर्वाङ्गिण बिकासको लागि बाह्य जगतको ज्ञान , अनुभव हुनु आवश्यक छ, किताबी ज्ञानलाई जबसम्म बास्तबिक संसार/ जीवन/घटना/ बस्तु संग जोड्न सकिदैन तबसम्म त्यो सिकाइ अर्थहीन सुगा रटाई जस्तै हो किनकि शिक्षाको उद्देश्य व्यक्तिलाई आत्मनिर्भर बनाउनु, समस्या समाधान गर्न सिकाउनु, आफ्नो जीवनको निर्णय आफै गर्न सक्षम बनाउनु हो (Unlike spoofed), उनीहरूको सिर्जनशीलता र अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्न सघाउनु हो, मानव कल्याण, दया, करूणा, भातृत्वपन, मानवता, बिनम्रता जस्ता मूल्यहरु निर्माण गर्नु हो।

बिद्यार्थीको राम्रो अंकको महत्व नभएको होइन, परापूर्व कालमा नि थियो र भोली पनि रहनेछ, गुणस्तरीय शिक्षा, राम्रो शैक्षिक उपलब्धिमा प्रश्न गर्ने ठाउँ नै छैन तर कस्तोलाई राम्रो वा गुणस्तर भन्ने हो र कसरी पढाउने हो भन्ने कुरा आज हाम्रो देशमा खड्केको ठूलो समस्या र चुनौती पनि हो।

ठीक छ, अहिलेकै शैक्षिक पद्धतिमा पनि केही सीमित बिद्यार्थी Distinction ल्याउने पनि छ, जिल्ला वा बिद्यालय प्रथम हुने वा बिश्वबिद्यालय प्रथम हुने पनि छन, हिजो पनि थिए र उनीहरू व्यक्तिगत जीवनमा राम्रै मान्छे बनेका पनि छन तर व्यावसायिक जीवनमा उनीहरू कतिको बिनम्र छन/ सहयोगी छन/ सदाचारि छन, करूणा/ दया छ कि छैन, आफ्नो निर्णय र समस्या समाधान आफै गर्न सक्छन कि सक्दैनन, राष्ट्र बिकासको लागि कतिको चिन्तित र तदारुक देखिन्छन, आफ्नै व्यक्तिगत स्वार्थ र परिवारको स्वार्थमा कति रूमल्लिन्छन आदि?? यो एउटा बहस र अनुसन्धानको बिषय हो, सबै राम्रा छन् वा सबै नराम्रा छन् भन्न मिल्ने अवस्था छैन् ।

राम्रै अंक ल्याएर इन्जिनियर बनेको छ र उ राम्रै काम गर्न चाहन्छ तर हिजो आफूसंगै कम अंक आएका, फेल भएका व्यक्तिहरुको सेरोफेरोमा काम गर्नुपर्छ ।

ल, एकछिनलाई मानौं, अब्बल अंक ल्याउने हरू अधिकांश माथि उल्लेख गरिए जस्तै सहिष्णु, सदाचारि, अनुशासित, बिनम्र, सहयोगी, मिलनसार, भेदभाव नगर्ने, व्यक्तिगत स्वार्थ भन्दा पनि राष्ट्रको हितको लागि अहोरात्र खट्ने आफ्नो बिषयमा राम्रै दखल राख्ने होलान तर के तिनीहरूले आफूले चाहेजस्तै र आफूले सिकेको अब्बल ज्ञान सीपको आधारमा काम गर्न, राष्ट्रलाई योगदान गर्न स्वतन्त्र छन् ?? पक्कै पनि छैनन्, मानौं कुनै एउटा राम्रै अंक ल्याएर इन्जिनियर बनेको छ र उ राम्रै काम गर्न चाहन्छ तर हिजो आफूसंगै कम अंक आएका, फेल भएका व्यक्तिहरुको सेरोफेरोमा काम गर्नुपर्छ ।

खराब आचरण भएका नेता, ठेकेदार, सप्लायर्स/ व्यापारी, डनहरु, वा त्यस्तै भ्रष्ट छबि भएका आफ्नै स्टाफ त त्यो अब्बल डिस्टिङ्सन होल्डर इन्जिनियरको जस्तो राम्रो आदर्श सोच राख्ने सम्भावना कम छ – केवल पैसा भए पुग्यो, मेहनत गरेर कमाउने भन्दा पनि सकभर अबैध बाटो हिड्न रूचाउने जमात छ। आदर्श इन्जिनियरले त्यस्तो चाहन्नँ किनकि उसले आफूले दूख गरेर ल्याएको अंक र प्रतिष्ठाको चिन्ता छ, र अरूको भलाई चाहन्छ। तर, त्यो अर्को जमात आफ्नो मात्र भलाई चाहन्छ, मानवता, राष्ट्र भक्ति केवल खोक्रा आदर्श ठान्दछ। र, अब इन्जिनियर संग दुइ मात्र बिकल्प हुन्छ- कि उनीहरूसंगै समायोजन हुने वा सरूवा हुने वा नयाँ ठाउँ गएर पनि बाहुल्यता पुरानै बदमास जमातको जस्तो छ भने देश छोडेर बिदेशमा पलायन हुने। र, आजको गुणस्तरीय/ अब्बल जनशक्तिले र राज्यले नै भोग्नुपरेको प्रमुख समस्या यही हो।

व्यक्तिगत जीवनमा पनि आफूसंगै पढन नसकेर वा व्यापारी बन्न चाहेर कोही दूधको व्यापारी भयो होला- उसले पानी र अखाद्य बस्तु मिसाएर त्यही डाक्टरलाई बेच्छ, त्यस्तै बाटोमा हिड्दा ड्राइभर वा यात्रुमा अनुशासन छैन, कपडा वा सामान किन्न जान्छ , त्यहीं ठगिन्छ, दुःख गरेर कमायो चोरले लगिदिन्छ

पढाईमा अब्बलकै कुरा गर्दा हामी डाक्टरको उदाहरण दिन्छौ, हुन पनि हो डाक्टर बन्न निकै मेहनत, सीप र अध्ययन पनि चाहिन्छ । डाक्टरले राम्रो अंक, ज्ञान बटुलेर मात्र काम लागेन किनकि अस्पताल प्रशासनमा अनियमितता छ, नैतिकता , सदाचारिता, अनुशासन छैन, उपकरण कमसल खालको आउँछन, कुनै नयाँ पद्धति लागू गर्न खोज्दा बिरोध आउँछ, नेताको अनुचित दबाब आउँछ, आदि । व्यक्तिगत जीवनमा पनि आफूसंगै पढन नसकेर वा व्यापारी बन्न चाहेर कोही दूधको व्यापारी भयो होला- उसले पानी र अखाद्य बस्तु मिसाएर त्यही डाक्टरलाई बेच्छ, त्यस्तै बाटोमा हिड्दा ड्राइभर वा यात्रुमा अनुशासन छैन, कपडा वा सामान किन्न जान्छ , त्यहीं ठगिन्छ, दुःख गरेर कमायो चोरले लगिदिन्छ आदि ।

र, एउटा सोचनीय कुरा त के पनि छ भने डाक्टर आफै पनि पढाईमा राम्रो प्रतिशत, चिरफारमा अब्बल हुँदाहुँदै पनि हाम्रो देशमा सबै डाक्टरले बिरामीसंग सौहार्दपूर्ण व्यवहार गर्न सकेका छैनन् र बिरामीको हितमा काम गर्न बिभिन्न बाधा अडचन छन्- कतिपय उनीहरूको व्यक्तिगत आचरणका कारण त कतिपय समुचित व्यवस्थापन, अनुशासन र चेतनाको अभावमा । यसको मूल कारण बिद्यालय शिक्षा नै हो। किनभने बिद्यालय शिक्षाको जोड जहिले पनि प्रतिशत र अंकमा रह्यो, र अन्य पक्षमा ध्यान नदिएको होइन तर प्राथमिकता दिन सकिएन , फलस्वरुप सबै जनताले सदाचार र कर्तव्यपरायणताको खडेरी भोग्नुपरेको छ। सुधार गर्न पनि गाह्रो छ, कहाँबाट शुरु गर्ने, कहाँ अन्त गर्ने।

गरिबी र अशिक्षा मात्र हाम्रो समस्या होइन उचित शिक्षा प्रणाली नहुनु र नैतिकता, सदाचारिता र अनुशासनको खडेरी हुनु पनि एक बिकराल समस्या हो।

त्यसकारण, यदि त्यस्ता खराब व्यापारी, नेता, ड्राइभर, ठेकेदार, अन्य कर्मचारी पनि यद्यपि डाक्टर बन्ने अन्तरनिहित क्षमता नभएर वा कम अंक आएर वा रूची नै नभएर उ जस्तै डाक्टर हुन नसके पनि जे सुकै पेशा अपनाए पनि आ-आफ्नो काममा अनुशासित, समर्पित, मर्यादित, शिष्ट, बिनम्र, सहयोगी, मानबिय भावना भएका हुन्थे होलान यदि शैक्षिक प्रणालीले किताबी ज्ञान भन्दा बाहिर दैनिक जीवनमा प्रत्यक्ष काम लाग्ने सीपहरु र मूल्य/ आचरण सिकाएको भए / जोड दिएको भए। सबैलाई काम गर्न सजिलो हुन्थ्यो, अनुशासित भएर देश चल्थ्यो, बरू रोबोटहरुको बिकास बिस्तारै होस, बरू सामान्य खाना होस तर मिसावट नभएको हुन्थ्यो होला, ढुक्कसंग यात्रा गर्न पाइन्थ्यो होला, कार्यालयमा जाने बित्तिकै कर्मचारी सम्मान गर्थे होलान, ढोका खुलै छोडेर गए पनि फर्किदा ल्यापटप, मोबाइल, आदि उस्तै हुन्थ्यो होला, जुन पसल गए पनि आँखा चिम्लेर मूल्य नै नसोधी किनिन्थ्यो होला….आदि। त्यसकारण, गरिबी र अशिक्षा मात्र हाम्रो समस्या होइन उचित शिक्षा प्रणाली नहुनु र नैतिकता, सदाचारिता र अनुशासनको खडेरी हुनु पनि एक बिकराल समस्या हो।

अनुशासन र पद्धतिलाई सबैले सम्मान गर्छन, सबैले अनुसरण गर्छन र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रको चौतर्फी बिकासमा तल्लीन छन्।

बिकसित मुलुकमा पनि पढ्ने सबै बिद्यार्थी एकदम मेधावी हुन्छन्, 100 मा 100 ल्याउँछन् वा डाक्टर नै हुन्छन् वा इन्जिनियर नै हुन्छन वा सरकारी कर्मचारी नै हुन्छन् भन्ने बिल्कुल होइन, व्यक्तिगत बिभिन्नता जहाँ पनि हुन्छ, रूचि, क्षमता ,प्रतिभामा बिबिधता हुन्छ र यदि बिबिधता नभएको भए त बिकसित मुलुक भरी डाक्टर र इन्जिनियर मात्र हुन्थे होलान (हाम्रो हालको सोचाइ र प्राथमिकता लाई हेर्ने हो भने) , अन्य पेशा गर्नेको खडेरी हुन्थ्यो होला बिकसित मुलुकमा । तर, जे सुकै पेशा गरून शिक्षाले उनीहरूलाई हरेक श्रमको गरिमालाई सम्मान गर्न, अनुशासित, पद्धतिमा काम गर्न, ऐन कानून पालना गर्न, समूहमा काम गर्न, मानबिय मूल्य मान्यतालाई केन्द्रमा राखी काम गर्न, दया, करूणा, बिनम्रता, उत्तरदायी, कामप्रति सम्मान गर्ने मूल्यहरु सिकाएकोले बिकसित मुलुकमा जीवनशैली सरल र सहज छ, अनुशासन र पद्धतिलाई सबैले सम्मान गर्छन, सबैले अनुसरण गर्छन र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर राष्ट्रको चौतर्फी बिकासमा तल्लीन छन्। त्यसकारण, नयाँ नेपालमा नयाँ शैक्षिक प्रणालीको बौद्धिक बहस जरूरी छ र मुलुकको चौतर्फी बिकासको लागि विद्यार्थीहरूको हौसला बढाउनु, उचित परामर्श दिएर उनीहरूको इच्छा र क्षमता अनुसारको बिषय वा व्यावसायिक तालिम दिनु , सही मार्गमा डोर्याउनु, जीवनपयोगी सीप सिकाउनु, अनुशासित हुन सिकाउनु जरूरी छ।

निजामती सेवामा कार्यरत लेखक भट्ट हाल, Ritsumeikan University, जापानमा अध्ययनरत JDS Scholar हुनुहुन्छ ।

योसँग सम्बन्धित

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

सम्पर्क ठेगाना

आत्मकथा संचार गृह प्रा.लि.
काठमाडौं, नेपाल

+977-9851190120
featured@aatmakatha.com

सूचना विभाग दर्ता नं. २०७७/७८